Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
क्रूस येशू राजाको युद्धभूमी थियो, जहाँ उहाँले आफ्नो शत्रु शैतानलाई हराउनु मात्र भएन तर आफ्ना मानिसहरुलाई सदैको लागी छुटकारा दिएर अनन्त प्रजा पनि बनाउनुभयो ।
यि निम्न बाइबलिय भनाइहरू पा. सुरज कासुलाद्वारा लिखित भनाईहरु हुन् । जसले बाइबलमा आधारित रहेर बाइबल भित्र रहेका विभिन्न विषयवस्तुहरु सम्बन्धीका ठिक बुझाईलाई प्रकाश पार्ने काम गरेका छन् । यी भनाइहरूद्वारा तपाईलाई बाइबल भित्र रहेको विभिन्न विषयवस्तुको बारेमा बुझ्नको निम्ति मद्दत पुग्नेछ ।
मन्दिरको महापवित्र स्थानमा करारको सन्दूक थियो जसभित्र मोशाको १० आज्ञा, हारुनको कोपिला लागेको लहुरो, र एक ओमेर मन्न थियो, अनि त्यसमाथि दुइवटा सुनको करूबहरु सन्दूकमा छाया पार्न बनाइएको थियो ! ती करूबहरु माथि इस्राएलका परमप्रभु परमेश्वरको सिंहासन थियो, जसलाई कृपा आसन / अनुग्रहको सिंहासन भनिन्थ्यो ! यसले यही देखाउँछ कि परमेश्वर सार्वभौमसत्ता सम्पन्न हुनहुन्छ जो आफ्नो संविधानमाथि आसीन हुनुहुन्छ, र करूबहरु उहाँको पवित्रताको रक्षा गर्ने दूतहरु हुन ! रोचक यो छ कि अनुग्रहको सिंहासनमा नै सालिन्दा पापको प्रायश्चित गरिन्थ्यो, अर्थात् अनुग्रहको सिंहासन नै प्रायश्चितको वेदी पनि थियो, जहाँबाट न्याय र अनुग्रह एकै साथ हुन्थ्यो ! यसले यही देखाउँछ कि त्यो करारको सन्दूकको वास्तविक रूप (Typology) येशूको क्रुस थियो जहाँ हाम्रो पापको न्यायको दण्ड भइसकेपछि अनुग्रह उपलब्ध भयो ! अर्को शब्दमा भन्नुपर्दा कलबरीको क्रुसमा न्याय र कृपा एउटै बिन्दुमा समागम भयो ! तर रोचक यो छ कि येशूले ईश्वरीय न्यायलाई सन्तुष्ट गरिदिनुभयो र अनुग्रहलाई आर्जन गरिदिनुभयो ! न्याय थुनियो ताकि अनुग्रह खोलियोस, न्याय माथि अनुग्रहको विजय भयो ! त्यही भएर हामीले आशिषको प्रार्थनामा येशू ख्रीष्टको अनुग्रह भन्छौ ! सबैको श्रेय केवल नयाँ करारको प्रधान पूजाहारी येशूलाई दिनुपर्दछ जसले आफ्नै रगत छर्केर हाम्रो न्यायलाई पन्छाएर हामीले कमाउन नसकिने अनुग्रहलाई सित्तैमा वरदान स्वरूप उपलब्ध गराईदिनुभयो ! त्यसैले अब मण्डलीलाई न्याय र न्यायको परिणाम दण्ड छैन ! यो अनुग्रहप्रति धन्यवादी हुनु नै मण्डलीको आनन्दको कारण हो !
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
पहिलो मन्दिर अदनको बगैंचा थियो ! यही मन्दिरको आधारमा मोशाले सोलोमनले, यरुबाबेलले, र हेरोदले मन्दिर निर्माण गरेका थिएँ । तर यो मन्दिर वास्तविक स्वर्गीय मन्दिरको छाया वा नकल मात्रै थियो ! यो मन्दिरको महापवित्रस्थानमा करारको सन्दूक थियो, जहाँ पापको प्रायश्चित सालिन्दा गरिन्थ्यो ! पृथ्वीमा पापको प्रायश्चित गर्ने वेदी यो बाहेक अरु कुनैपनी थिएन ! तर अचम्मको कुरा यो छ कि त्यो वेदीले एकजना व्यक्तिलाई दसाईरहेको थियो, किनभने पाप उठाई लाने परमेश्वरको थुमा संसारमा आउँदै हुनुहुन्थ्यो ! जनावरको रगतले पापको शुद्धि हुन नसक्ने भएकोले मन्दिरको वेदी अपर्याप्त भएको देख्छौ ! त्यही भएर सिद्ध पर्याप्त वेदी, बलिदान, र बलि चढाउन पूजाहारीको जरूरत पर्यो ! येशूले आफ्नै पूजाहारीगिरीद्धारा आफ्नै रगत छर्केर एकै खेपमा अरु बलिदान जरूरत नपर्ने गरी पापको शुद्धि गरीदिनु भयो ! यो भन्दा पनि रोचक यो हो कि : मन्दिरको महापवित्रस्थानमा वर्षको एकपल्ट मात्रै प्रधान पूजाहारी छिर्न पाउँथ्यो, अरु कसैलाई अनुमति थिएन ! तर हाम्रो प्रधानपूजाहारी येशूले करूबहरुलाई पन्छाएर र न्यायको ज्वालामय तरवारलाई हटाएर, पापको प्रायश्चित गर्ने वेदीलाई महापवित्र स्थानबाट निकालेर यहूदीहरुलाई मात्रै नभएर संसारकै पाप प्रायश्चित गर्नको लागि उपलब्ध गरिदिनु भयो ! येशूको मृत्यु भए लगत्तै मन्दिरको पर्दा दुई भागमा च्यातिनुको कारण पनी यही नै हो : म जस्तो पापीलाई महापवित्र स्थानमा लान सकियोस् भनेर भन्दा पनि महापवित्र स्थानको वेदी सबैले देखिने गरी क्रुस मार्फत बाहिर ल्याउन सकियोस् भनेर! यसबाट यो स्पष्ट हुन्छ कि त्यो वेदी येशूको क्रुस थियो र जसरी मोशाले उजाड स्थानमा सर्प उचाले, त्यसरी नै येशू उचालिनु भयो ताकि पापको सर्पले टोकेकाहरु निको हुन सकुन भनेर ! यो भन्दा पनि अझ रोचकः जसरी पाप प्रायश्चितको लागि मन्दिरको वेदी वाहेक अरु कुनै वेदी थिएन, त्यसरी नै मुक्ति पाउनलाई अव पृथ्वीमूनि अरु कुनै नाउँ दिएको छैन ! केवल क्रुसको वेदीमा मुक्ति छ, र पापको प्रायश्चित छ किनभने मन्दिरको वेदीलाई येशूको क्रुसले सधैंको लागि प्रतिस्थापन गरीदियो ! यो नै नयाँ करारको आशिष र अनुग्रह हो !
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
अदनको बगैंचा पहिलो मन्दिर थियो ! आदम त्यस बगैंचाको पूजाहारी र बगैंचा सजाउने माली थियो ! त्यो मालीलाई सघाउन परमेश्वरले हव्वालाई सहयोगीको रूपमा दिनुभयो ! आदम र हव्वाले परमेश्वरबाट फल्दै – फुल्दै वृद्धि हुँदै जाने र पृथ्वीमा भरिदै जाने आशिष पाएका थिए ! यसले यो देखाउँछ कि यो दम्पतीले अदनको बगैंचा मात्रै नभएर सबै सृष्टिलाई अदन जस्तै हराभरा गर्नु पथ्र्यो किनभने अदन बाहिर हराभरा थिएन ! अर्को शब्दमा भन्नुपर्दा अदनको हराभरा र सुन्दरताको आशिष सारा संसारभरी फैलाउनु नै माली आदम र त्यसको सहयोगी हब्बाको प्रमुख जिम्मेवारी थियो ! तर आदम र हव्वा यस जिम्मेवारीबाट चुके र बगैंचाबाट लखेटिए ! परमेश्वरले आफ्नो पुत्रलाई नयाँ सृष्टिको मालीको रूपमा पठाउनुभयो, जसले आदमले गुमाएको हराभरालाई पुर्नस्थापना र पुनःप्राप्त गर्न आउनुभयो! त्यही भएर जब येशू मृतकबाट पुनरुत्थान हुनुभयो मरियमले येशूलाई माली भन्ठानेकी थिइन, जुन सत्य थियो ! यो नयाँ सृष्टिको मालीले परमेश्वरको राज्यको हराभरा र सुन्दरतालाई संसारभरी सुसमाचारद्वारा फैलाउदै हुनहुन्छ अर्थात् माली आदमले गर्न नसकेको मालीको काम अन्तिम आदमले गर्दै हुनहुन्छ ! रोचक यो छ कि हाम्रो माली प्रभुले आफ्नो बगैँचामा काम गर्न मण्डलीलाई पनि उहाँको सहकर्मीको रूपमा बोलाउनु भयो, साथै यस कामको इनाममा हामीलाई पनि सहभागी गराउनु भयो ! जसरी आदमको सहयोगी हव्वा उसको करङबाट निकालिकी थिइन, त्यसरी नै मण्डली पनि ख्रीष्टको शरीर हो, अर्थात् उहाँको अंश ! त्यसैले राज्यको सुसमाचारले मात्रै संसारलाई हराभरा र सुन्दर बनाउन सक्छ ! मण्डली यस महिमित मालीको कामबाट कहील्यै पनि विमुख र गैरजिम्मेवारी हुन् कदापि मिल्दैन ! हाम्रो महान मालीले यो जिम्मा मण्डलीलाई दिएर जानुभएको छ र यसलाई पालन गर्नु र अभ्यास गर्नु नै मण्डलीको धर्म हो !
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
मुक्ति केवल ख्रीष्टको व्यक्तित्व र कार्य माथिको (सुसमाचार) विश्वासले मात्रै सम्भव बनाउँछ, किनभने विश्वास नै परमेश्वरको करारमा प्रवेश गर्ने एक मात्रै माध्यम हो ! जसरी अब्राहामले परमेश्वरको प्रतिज्ञा र प्रबन्ध माथि आशा र भरोसा राखे, त्यसरी नै मानिसले अझ उत्तम परमेश्वरको प्रतिज्ञा र प्रबन्ध अर्थात् येशू ख्रीष्टको क्रुसमाथि आस्था र विश्वास राख्नु पर्दछ ! यो नै परमेश्वरको अनुग्रहको परिणाम अर्थात् निर्दोषीकरण ( Justification ) को सिद्धान्त हो : धर्मकर्म विना सित्तैमा विश्वासद्वारा धार्मिकता ! रोचक यो छ कि पुरानो र नयाँ करारका मानिसहरू यही विश्वासद्वारा धर्मी ठहरिए । पुरानो करारका विश्वासीहरुले प्रतिज्ञा गरिएको अर्थात् आउने वाला मसीहको क्रुसमाथि विश्वास गरेर धर्मी ठहरिए भने नयाँ करारका विश्वासीहरु आइसकेको मसीहको क्रुसमाथि विश्वास गरेर धर्मी ठहरिए ! फरक केही छैन, किनभने दुवै समूहले त्यही परमेश्वर र त्यही परमेश्वरको प्रतिज्ञा र प्रबन्धमाथि विश्वास गरे ! यही विश्वासमा पुरानो करारको विश्वासीहरुले मन्दिर र बलिदानमा सेवा र आराधना गरेका थिए, जसको वास्तविक रूप येशू हुनुहुन्छ ! करारको ईश्वरशास्त्र र बाइबलीय ईश्वरशास्त्र राम्रोसँग नबुझिकन यो देख्न असम्भव छ ! त्यसकारण नेपाली मण्डलीले करारको ईश्वरशास्त्र र बाइबलीय ईश्वरशास्त्रलाई प्राथमिकता दिनु एकदम उत्तम हुन्छ !
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
मुक्ति धर्मकर्मद्वारा मात्रै सम्भव छ, विश्वासद्वारा कदापि हैन ! मुक्ति सस्तो र सितैंमा पनि पाइँदैन ! मुक्ति मोशाको व्यवस्थाको धर्मकर्ममा आधारित छ, जुन येशूले आफ्नो पवित्र जीवनद्वारा व्यवस्थामा निस्खोट र निस्कलंक भएर, साथै महँगो मूल्य चुकाएर क्रूसमा पापवाली भएर कमाई दिनुभयो । यसलाई येशूको सक्रिय र निष्क्रिय आज्ञाकारीता भनिन्छ : अर्थात् येशू हाम्रो पापको लागि मर्नु मात्रै भएन तर धार्मिकता र पवित्रताको लागी जिउनु पनी भयो ! हाम्रो धर्मकर्ममा नभएर येशूको धार्मिक कार्यमा विश्वास गरेको कारणले हामीले मुक्ति पाएका हौं ! येशूले हाम्रो खातिर मोशाको व्यवस्थाको मागलाई आफ्नो पवित्र जीवनद्वारा पूरा गरी दिनु भयो भने उहाँले हाम्रो खातिर परमेश्वरको न्याय र पवित्र क्रोधलाई पूर्ण रूपमा सन्तुष्ट गरी दिनुभयो !अर्को शब्दमा भन्नुपर्दा, यदि येशूले आफ्नो धर्मकर्मद्वारा मुक्ति प्रबन्ध नगरिदिनु भएको भए, हामीले के माथि विश्वास गरेर मुक्ति पाउने ? मुक्तिको आधार नै हुँदैन थियो ? तर अब त हाम्रो मुक्तिको आधार छ, र यसैमाथि हाम्रो विश्वास, आस्था र पूर्ण निर्भर भएर मुक्ति केवल विश्वासद्वारा मात्र सम्भव बनाइदिनुभयो । यसरी भन्न सकिन्छः येशूले मुक्ति आर्जन गर्दा विश्वासद्वारा थिएन, बरु व्यवस्थाको कर्मद्वारा थियो, तर जब उहाँले मानव जातिलाई यो मुक्ति दिनुभयो, तब उहाँले आफ्नो अनुग्रहमा यो मुक्ति वरदान स्वरूप दिनुभयो ! मानिसको लागि यो मुक्ति सस्तो र सित्तैमा थियो, तर येशूले यो कमाउँदा महँगो र ठूलो मूल्य क्रुसमा चुकाउनु पर्यो ! येशूले मण्डलीलाई अनन्त गुण लगाउनु भएको छ, र मण्डली येशूको यो बलिदानी प्रेमप्रति ऋणी छ, जुन मण्डलीले आज्ञाकारी जीवनद्वारा चुकाउँदै जानु पर्छ !
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
परमेश्वर पिता, ख्रीष्ट येशूको क्रुसको बलिदानको एकमात्रै प्रायोजक (Sponsor) हुनुहुन्छ ! यसलाई यसरी भन्न सकिन्छ : येशूको क्रुस मंच थियो, जहाँ संसारको मुक्तिको कथा कोरिदै थियो, र यस चलचित्रको प्रायोजन परमेश्वरले गर्नुभएको थियो ! प्रायोजकको अर्थ आफ्नो संघ – संस्था वा व्यापारको प्रचार–प्रसार र प्रवद्र्धन गर्नको निम्ति लगानी गर्ने लगानीकर्ता हो । यो व्यापारीक भाषा भएतापनि ईश्वरशास्त्रमा चलाउन उपयुक्त हुन्छ । परमेश्वरले आफ्नो प्रचार–प्रसार र आफ्नै नाउँको महिमा गर्न, अनि संसारमा आफ्नो कार्यको प्रवद्र्धन गर्न उहाँले आफ्नो पुत्रलाई पठाउनुभयो ! यो पुत्र प्रायोजक परमेश्वरको प्रयोजन वा प्रायोजित हुनुहुन्छ, जसले आफ्नो प्रायोजक परमेश्वरको प्रवद्र्धन र प्रचारको खातिर बलिदान हुनुभयो ! तर बाइबलमा एउटा रोचक यो छ, जुन व्यापारिक प्रयोजनसंग मिल्दैन : प्रायोजक (परमेश्वर) ले नै प्रायोजितलाई (पुत्र) उपलब्ध र प्रबन्ध गरिदिनुभयो ! यति मात्रै नभई प्रायोजितको मंच अर्थात् क्रूसपनि मुक्तिको कथा कोर्न तयार गरिदिनुभयो ! परमेश्वरले यस्तो किन गर्नुभयो ? यसको उत्तर रोमी ३ः२५–२६ मा पावलले एकदम राम्रोसंग यसरी दिनुभयो : यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। र येशूको मुक्तिको मिसनलाई सम्भव बनाउन परमेश्वरको पवित्र आत्माले येशूलाई सम्पूर्ण कार्यमा सघाउनु भयो ! मुक्तिदाता प्रभु येशूले यो मुक्तिको कार्य आफ्नो दुर्बल मानवीय शरीरमा सुसम्पन्न गर्दै गर्दा उहाँ आफ्नो ईश्वरीय स्वभावमा भन्दा पनी पवित्र आत्मामा पूर्ण रूपमा निर्भर रहनुभयो ! अर्को शब्दमा भन्नुपर्दा परेश्वरको पवित्र आत्माविना उद्धारको कथा अधुरो र अपुरो नै हुनेथियो ! स्मरण रहोस् : येशू केन्दित भन्दै गर्दा परमेश्वर ( पिता ) को र पवित्र आत्माको कार्यलाई मण्डलीले बिर्सनुहुँदैन, र महत्वका साथ प्रचार गर्नुपर्दछ ।
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
येशू ख्रीष्टले आफ्नो व्यक्तित्व र कार्यद्वारा मण्डलीको निम्ति धेरै आशिष र अनुग्रह कमाई दिनुभयो, अनी सित्तैमा उपहार स्वरूप विश्वासीहरूलाई यो दिनु पनि भयो ! क्रुसद्वारा निर्दोषीकारण, धर्मीकरण, पवित्रीकरण, धर्मसन्तानको आशिष, र महिमिकारण कमाइदिनुभयो, जुन मण्डलीले ख्रीष्टसँगको एकताद्वारा प्राप्त गर्छिन ! निर्दोषीकरणले विश्वासीलाई ख्रीष्टको निष्क्रिय आज्ञाकारीताद्वारा (क्रुस) सम्पूर्ण पापको क्षमा दिएर निर्दोष सरह परमेश्वरको नजरमा कहिले पाप नगरेको जस्तै तुल्याईदिन्छ । पवित्रकरणले येशूले सक्रिय आज्ञाकारीताद्वारा कमाउनु भएको पवित्र जीवनमा मण्डलीलाई कलमी बाँधेर निष्कलंक बनाईदिन्छ । सक्रिय आज्ञाकारीताले निर्दोष सरह बनाईदिन्छ, भने निष्क्रिय आज्ञाकारीताले पवित्र बनाईदिन्छ, अनि यो दुवै आशिषहरुले महिमीकरणको लागि योग्यता र आधार तयार गरिदिन्छ ! यो कानुनको भाषा हो । तर रोचक यो छ कि धर्मसन्तानको आशिष परिवारको भाषा हो ! ज – जसलाई परमेश्वरले महिमाको लागि निर्दोष र पवित्र तुल्याउनु हुन्छ, तिनीहरूलाई आफ्नो सन्तान पनि अवश्य बनाउनुहुन्छ, अर्थात् दोषीलाई निर्दोष र पवित्र बनाएर महिमाको घरमा आफ्नो पुत्र र पुत्री बनाएर लानु पनि हुन्छ ! अब धर्मसन्तानले आफ्नो पिताको घर अर्थात् स्वर्गको उतराधिकार, नागरिकता र आफ्नो पिताको नाउँ पनि सित्तैमा उपभोग गर्न पाउँछ ! यसलाई यसरी बुझौ : अदालतको कठघरामा जघन्य अपराधको दोषी भएर उभिएको आरोपितको दण्ड, न्याय, र कसुर, परमेश्वरको स्वाभाविक एक मात्र पुत्र, येशू ख्रीष्ट हाम्रो जेठो दाजुले आफूमाथि त्यो मुद्दा र मुद्दाको दोष, न्याय , र आरोपको दण्डको भुक्तानी क्रुसमा रगत बगाएर गरीदिनुभयो । दण्डको भुक्तानी हाम्रो दाजुले भोगिसक्नुभएको कारणले अब हामी बाइज्जतबरी भएर, सफाई पाएर अदालतबाट बाहिर जाँदै गर्दा न्यायाधीश परमेश्वर पिताले बाहिर भेटेर आफ्नो सन्तानको रूपमा हामीलाई हात समातेर घरतिर लानुहुन्छ ! अनी हाम्रो विरुद्धमा रहेको प्रतिवादी वकीललाई (शैतान) खुलमखुल्ला तमाशा बनाईदिनुभयो ! यसरी परमेश्वरले हाम्रो जेठो दाजु ख्रीष्टको क्रुसको मृत्यु र पुनरुत्थानद्वारा हामीलाई आफ्नो महिमित परिवार र घरानाको सदस्य बनाउनुहुन्छ ! त्यसैले हामी येशूका भाई – बहिनीहरू अर्थात् परमेश्वरको सन्तानले यस पवित्र परिवारलाई अझ बढाउन सुसमाचार प्रचारद्वारा योगदान र बलिदान गर्नुपर्छ, जुन हाम्रो पारिवारीक धर्म हो !
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
हाम्रो धर्मिकरण, पवित्रीकरण र महिमिकरणमा नपुगेसम्मको आधार भनेको केवल ख्रीष्टको अनवरत काम हो , अर्थात हाम्रो पक्षमा भएर ख्रीष्टले क्रूसमा सिध्याई सक्नुभएको कामलाई देखाउँदै हाम्रो पक्षमा भएर उहाँले परमेश्वरको सिंहासन अघि निरन्तर पुजाहारीको रुपमा अन्तरविन्तिको प्रार्थना चढाई रहने कार्य हो ।
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर
क्रूस येशू राजाको युद्धभूमी थियो, जहाँ उहाँले आफ्नो शत्रु शैतानलाई हराउनु मात्र भएन तर आफ्ना मानिसहरुलाई सदैको लागी छुटकारा दिएर अनन्त प्रजा पनि बनाउनुभयो ।
सुरज कासुला – पाष्टर शेखाईना इभान्जेलिकल चर्च, भक्तपुर