बाइबलीय ईश्वरशास्त्र भनेको के हो ? यसमा हुनुपर्ने गुणहरू के के हुन् ?

परमेश्वरको विशेष प्रकाशको सुरुवात देखि पूर्णता‚ पुनर्स्थापना र समापनको  क्रमश: खुलासा हो । 

बाइबलको कुनै एक विशेष विषय वा विषयवस्तु कसरी शुरु भयो‚ र कसरी समयसँगै त्यसको विकास भयो‚ र त्यसले आकार र स्वरूप लियो र समयको अवधिमा बाइबलको त्यस विषयमा परिवर्तन आयो ‚ र त्यसको तत्कालीन सन्दर्भ कसरी बाइबलको कथा रेखामा बग्छ र त्यसले कसरी येशूको व्यक्तित्व र कार्यमा ( सुसमाचार: येशूको जन्म‚ जीवन‚ मृत्यु‚ पुनरुत्थान‚ स्वर्गारोहण‚ राज्य अभिषेक‚ महिमिकरण र पिताको दाहिने हातमा विराजमान ) मा गएर सम्बन्धित हुन्छ र अन्त्यमा यस विषय कसरी प्रकाशको पुस्तकमा समापन र पूरा भएको छ भन्ने कुराको अध्ययन गर्नु नै बाइबलीय ईश्वरशास्त्र हो । जसले चाहीँ बाइबलमा भएका ६६ वटा पुस्तकहरु एउटै मुख्य विषय ( उद्धार ) र व्यक्ति ( येशू ख्रीष्ट ) मा केन्द्रीत छ भन्ने कुरालाई देखाउँछ ।
बाइबलको सुरुको पुस्तक उत्पतिमा र अन्तिम पुस्तक प्रकाशमा एउटै भनाई पाउँछौँ । जसले गर्दा बाइबल एउटा पूर्ण परमेश्वरको पुस्तक हो । जस्तै‚ उत्पतिमा शैतानको प्रवेश‚ मानिस र परमेश्वरको सम्बन्ध बिग्रिएको‚ स्वर्गीय जीवन नष्ट भएको‚ श्रापको शुरु‚ द्वन्द्वको सुरुवात‚ स्वर्ग र पृथ्वी पुरानो भएको तर अन्तिम पुस्तक प्रकाशमा शैतान नष्ट भएको‚ मानिस र परमेश्वरको सम्बन्ध पुनस्थापना भएको‚ स्वर्गीय जीवन फेरी आएको‚ श्रापको अन्त्य‚ स्वर्ग र पृथ्वीको नवीकरण भएको । यसकारण बाइबल एउटा पूर्ण पुस्तक हो ।
बाइबल ईश्वरीय प्रेरणा द्धारा लेखिएको परमेश्वरको कथा हो । २ तिमाथी ३:१६–१७‚ २ पत्रुस १:२०–२१‚ भजन १२:६ बाइबलले आफ्नो कथालाई विभिन्न साहित्यिक शैलीहरु प्रयोग गरी परमेश्वरले इतिहासमा गर्नुभएको उद्धारको कार्यको एउटा कथालाई बताउँछ । बाइबलका ६६ वटा पुस्तकहरू ४० भन्दा बढी लेखकद्वारा १५०० वर्षको अवधिमा तिन वटा महादेश एशिया‚ युरोप र अफ्रिका महादेशमा लेखिएको हो । 
ति लेखकहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर लेखेका थिए । जसकारण विभिन्न लेखक‚ विभिन्न कालखण्डमा र विभिन्न भौगोलिक क्षेत्रमा भएर लेखेतापनी बाइबलका पुस्तकहरू एकअर्कामा विरोधाभास छैन तर एउटै विषयवस्तु र एउटै कथा छ ।
बाइबल परमेश्वरको वचन हो भन्ने कुरा सबै ख्रीष्टियानहरू विश्वास गर्छन अनि दिनहुँ पनि पढ्छन् । तर पनि बाइबल कसको विषयमा लेखिएको पुस्तक हो भन्ने कुरा धेरैजनाले बुझेका हुँदैनन् ।
त्यस्ता मानिसहरूको विषयमा येशूले यहुदीहरुलाई भनेझैँ भन्नुहुन्छ युहन्ना ५:३९–४० तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ‚ किनभने त्यहाँ अनन्त जीवन पाईन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन‚ तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ । येशू ख्रीष्ट स्वयम्‌ आफैले बाइबल कसको बारेमा हो भन्ने कुरालाई स्पष्ट पारिदिनुभएको छ । 
उहाँले तिनीहरूलाई भन्नुभयो‚ “ए अबुझ मानिस हो‚ तिमीहरूका हृदय यति सुस्त भएको छ‚ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ! के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?” तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो । लुका २४:२५–२७
उहाँले तिनीहरूलाई भन्नुभयो‚ “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्‌‚ अर्थात् मोशाको व्यवस्था‚ अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।”
तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको ;dem खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो‚ “यसो लेखिएको छ‚ कि ख्रीष्टले दु:ख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ । लुका २४:४४–४६

बाइबलीय ईश्वरशास्त्रमा हुनुपर्ने गुणहरु निम्न रहेका छन ।
१. बाइबल व्यापक कथा हो: यसको कथा धर्मशास्त्रको ठूलो कथामा अटाउनुपर्छ ।
२. यसले हामीलाई बाइबललाई आधारित गर्ने ठूलो चित्र र विषयवस्तुहरू हेर्न मद्दत गर्छ  ।
३. परमेश्वरको विशेष प्रकाशको सुरुवात देखि पूर्णता‚ पुनर्स्थापना र समापनको  क्रमश: खुलासा हो । 
४. यसले ख्रीष्ट–केन्द्रित दृष्टिकोणलाई केन्द्रित गर्छ: येशू पुरानो करार र नयाँ करारकोे बाइबलीय ईश्वरशास्त्रको मुटु र मुटुको धड्कन हुनुहुन्छ: 
५. बाइबलीय ईश्वरशास्त्र ख्रीष्ट केन्द्रितमात्रै (Messianic)  होइन‚ तर ख्रीष्टको मिसन केन्द्रित (Messilogical) पनि हो !
६.यो पवित्रशास्त्र र तिनका लेखकहरूको एकता र विविधतामा केन्द्रित छ।
७. बाइबलका लेखक एउटै भएको हुनाले सबै एक अर्कासँग सहमत हुन्छ‚ कहिल्यै विरोधी हुँदैन् ।
८. बाइबलको संरचना वा मेरुदण्ड करारको ईश्वरशास्त्र  हो‚ त्यसैले बाइबलीय ईश्वरशास्त्रलाई करारको ईश्वरशास्त्रमा फ्रेम गरिएको हुनुपर्छ: एउटै सुनको सिक्रीमा गाँसिएको ६६ वटा मोतीहरुको भव्य गहना !
९. नयाँ करामा पुरानो कराकको उद्धरणहरू बाइबलीय ईश्वरशास्त्रलाई बुझ्ने सहि तरिका हो 
१०. यो बाइबलीय विषयवस्तुको ऐतिहासिक तत्काल सन्दर्भ र भविष्यको सन्दर्भमा केन्द्रित छ ।
११. यसले प्रकारशास्त्र ( Typology ) ‚ विपरित प्रकारशास्त्र‚ अलङ्कारहरु ‚ प्रतीक‚ रूपक‚ र उनीहरूले ख्रीष्टमा कसरी आफ्नो पूर्णता पाउँछन् भन्ने कुरामा विशेष जोड दिन्छ ।

बाइबलमा कुनै पनि विषयवस्तुको कसरी त्यसको उद्गम भएको छ अनि समयसँगै कसरी त्यसले आकार स्वरुप लिएको छ अनि येशू ख्रीष्टको व्यक्तित्व र काम सित कसरी सम्बन्धित भई त्यसको समापन कसरी भएको छ भन्ने कुरालाई एक उदाहरण माफर्त हेरौँ।
करारको बाइबलीय ईश्वरशास्त्रको एक उदाहरणलाई हेरौँ

१. आदमसँगको करार (सृष्टिको करार‚ कामको करार‚ जीवनको करार ) उत्पत्ति १–३
क. यद्यपि यहाँ “करार“ शब्द प्रयोग गरिएको छैन तर करारमा हुने तत्त्वहरू छन् । 
( होशे ६:७ ले भने आदम सितको करार गर्नुभएको थियो भनेर पुष्टी गर्छ ।
१. शर्तहरु : तैले असल र खराबको ज्ञानदिने रूखबाट नखानु 
२. करारको चिन्ह : २ वटा रूखहरू 
३. शपथ वा प्रतिज्ञा : आशिष वा श्राप ( जीवन वा मृत्यु )
    भविष्यका सबै करारहरूको लागि चरण तय गर्दछ । मानीस असफल हुन्छ‚ तर परमेश्वरले उद्धारको सुरुवात गर्नुहुन्छ ।

२. नोआसितको करार – उत्पत्ति ६–९
क. जलप्रलय पछि‚ परमेश्वरले नोआ र सबै सृष्टिसँग एकतर्फि करार बाँध्नुहुन्छ ।
१. शपथ वा प्रतिज्ञा: फेरि कहिल्यै जलप्रलयद्वारा पृथ्वीलाई नष्ट गर्नेछैन ।
२. करारको चिन्ह: इन्द्रेणी
३. रगत : बलिदान
     संरक्षणको विश्वव्यापी करार – संसारलाई स्थिर बनाउँछ ताकि मुक्ति प्रकट हुन सकोस् ।

३. अब्राहामसितको करार – उत्पत्ति १२‚ १५‚ १७
क. परमेश्वरले अब्राहामलाई बोलाउनुहुन्छ र एक बिनाशर्त अनुग्रहको करार बाँध्नुहुन्छ ।
शपथ वा प्रतिज्ञाहरू: सन्तान‚ भूमि‚ सबै राष्ट्रहरूलाई आशीष ।
करारको चिन्ह: खतना 
रगत : बलिदान
    परमेश्वरले अब्राहामको सन्तान माफर्त संसारलाई आशीष दिनुहुनेछ ।

४. मोशासितको करार ( सिनै पर्वतमा ) – प्रस्थान १९–२४
शपथ वा प्रतिज्ञा : आज्ञापालनको परिणाम आशिष 
करारको चिन्ह: शबाथ‚ दशआज्ञा‚ पवित्रवासस्थान
रगत : बलिदान
मुक्ति व्यवस्थामा आधारित छैन तर अनुग्रहद्धारा मात्र संम्भव छ तर व्यवस्था पवित्र जीवनलाई मार्गदर्शन गर्न दिइएको थियो ।
    परमेश्वरको पवित्रता र पूर्ण रूपमा आज्ञा पालन गर्न इस्राएलको असमर्थता देखाउँछ मध्यस्थकर्ताको आवश्यकतालाई औंल्याउँछ ।

५. दाऊद सितको करार – २ शमूएल ७
१. शपथ वा प्रतिज्ञा : मन्दिर निर्माणकर्ता : आज्ञापालनको परिणाम : उतराधिकारको कहिल्यै कमी नहुने ।
 २. करारको चिन्ह : मन्दिर र दाऊदवंशी राजाहरु 
    न्याय र शान्तिमा परमेश्वरका मानिसहरू माथि शासन गर्ने अनन्त राजालाई औंल्याउँछ ।

६. नयाँ करार – यर्मिया ३१‚ इजकिएल ३६‚ लूका २२
क. मोशाको करारलाई विस्थापन गरिदिनुभयो र सन्तानको रुपमा सबैलाई को आषिश दिन आउनुभयो ।
१. सर्तहरू : सर्तरहित : त्यसैले मुक्ति गुम्दैन ।
 २. करारको चिन्ह : बप्तिस्मा र प्रभु भोज ( लुका २२:२० )
 ३. शपथ वा प्रतिज्ञा : अनुग्रह र विश्वासद्वारा मुक्ति (यहून्ना ३:१६) 
 ४. रगत :  क्रुसको बलिदान
    सबै करारहरूको चरम सीमा ( पूर्णता )– परमेश्वरले ख्रीष्टको बलिदान  मार्फत आफ्ना मानिसहरूलाई पुनर्स्थापित गर्नुहुन्छ ।

७. नयाँ करारको मध्यस्थकर्ता येशू ख्रीष्ट । 
क. हिब्रु ८–१०: येशू उत्तम करारको मध्यस्थकर्ता हुनुहुन्छ ।
ख. पुरानो चाहिँ असल र अस्थायी थियो‚ नयाँ चाहिँ उत्तम र स्थायी छ । ( हिब्रु ८:६ )
    येशू  मार्फत ‚ हामी शान्तिको अनन्त करारमा प्रवेश गर्छौं ( हिब्रु १३:२०) ।

८. परमेश्वर आफ्ना मानिसहरूसँग अनन्त वास गर्नुहुन्छ – नयाँ करार पूरा भयो
प्रकाश २१:३ सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें‚ “हेर‚ परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ‚ र तिनीहरू उहाँका प्रजा हुनेछन्‌‚ र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ ।

    अव अर्को करारको आवश्यकता पर्दैन कारण येशू ख्रीष्टद्वारा बाँधिएको करार नै अनन्त करार हो । ( प्रकाश २२:३ ) 


One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *